गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

गण्डकी प्रदेश, पोखरा, नेपाल

कार्यालय प्रमुखको सन्देश


Powered by koili.ai

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत रहेको यस प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशको आधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

गण्डकी प्रदेशका नागरिकहरुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी आवश्यक एवं गुणस्तरीय औषधी, खोप तथा स्वास्थ्य सामाग्रीहरुको निरन्तर एवं निर्वाध सुनिश्चित गर्न यो केन्द्र सदैव कटिबद्ध रहँदै आएको छ । स्वास्थ्य नीति र मन्त्रालयको रणनीतिक मार्गदर्शन अनुरुप हामी प्रदेशभर एक सबल स्वास्थ्य आपूर्ति प्रणालीको संस्थागत विकास गर्ने दीर्घकालीन अभियानमा केन्द्रित छौं ।

औषधीजन्य मालसामानहरुको नियमित उपलब्धता बिना स्वास्थ्य सेवाका सम्पूर्ण प्रयासहरु निरर्थक हुने तथ्यलाई आत्मसाथ गर्दै यस केन्द्रले अत्यावश्यक औषधी, खोप, मातृशिशु स्वास्थ्य सामाग्री एवं जीवनरक्षक उपकरणहरुको खरिद, वैज्ञानिक भण्डारण र सुरक्षित वितरण प्रणालीलाई आफ्नो कार्यको केन्द्रविन्दुमा राखेको छ । स्वीकृत वार्षिक कार्यक्रम र खरिद योजना अनुसार प्रदेश मातहतका अस्पतालहरुको सुदृढीकरणका कार्यहरु अघि बढाइएका छन् ।

स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्नका लागि हामीले वैज्ञानिक तबरबाट परिमाण प्रक्षेपण तथा निर्धारण र वार्षिक खरिद योजना गर्ने गरेका छौं । विशेष गरी नसर्ने रोग तथा अन्य नियमित माग हुने औषधीहरुको वर्षभरि निर्वाध आपूर्ति सुनिश्चितताका लागि भविष्यमा बहुवर्षीय संरचनात्मक सम्झौताको नवीन अवधारणलाई कार्यान्वयमा लैजाने हाम्रो दीर्घकालीन लक्ष्य रहेको छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीका नवीनतम संशोधनहरु (१६ औं संशोधनसहित) को पूर्ण पालना गर्दै शतप्रतिशत विद्युतीय खरिद प्रणाली, सार्वजनिक खरिदमा स्वेदेशी मालसामानलाई प्राथमिकता दिने राष्ट्रिय नीति र पारदर्शी मूल्याङ्कन विधि मार्फत खरिद कार्यलाई पूर्ण विश्वसनीय र मितव्ययी बनाउन हामी क्रियाशील छौं ।

स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष नेतृत्वमा यस केन्द्रले संघीय स्वास्थ्य सेवा विभाग, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, ११ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरु, प्रादेशिक अस्पतालहरु, स्थानीय सरकारहरु र अन्य राष्ट्रिय अन्तराष्ट्रिय सरोकारवाला संघसंस्थाहरु बीच मजबुत समन्वय स्थापित गरेको छ । गण्डकी प्रदेशका सबै नेपाली नागरिकहरु, विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अति विकट ग्रामीण भेगमा बसोबास गर्ने तथा सीमान्तकृत समुदायसम्म गुणस्तरीय स्वास्थ्य सामग्रीको न्यायोचित पहुँच र समतामूलक वितरण प्रणाली सुनिश्चित गर्न हामी सदैव प्रतिबद्ध छौं ।

हाम्रो यस आधिकारिक वेबसाइट स्वास्थ्य आपूर्ति र खरिद प्रणालीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सरोकारवाला निकायहरु, उद्यमीहरु, र आम नागरिकका लागि सूचनाको प्रमुख र भरपर्दो सेतु बन्नेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । यस वेबसाइटले केन्द्रका खरिद प्रक्रिया, औषधिको मौज्दात विवरण र विविध गतिविधिहरुको बारेमा सम्बन्धित सबैलाई पारदर्शी रुपमा सूचित गर्नेछ । वेबसाइटलाई अझ बढी उपयोगी, सान्दर्भिक र प्रभावकारी बनाउन यहाँको अमूल्य सल्लाह, रचनाच्मक प्रतिक्रिया र सुझावहरुको सदैव अपेक्षा गर्दै हार्दिक स्वागत गर्दछु ।

धन्यवाद !

     

खिम बहादुर खड्का
 कार्यालय प्रमुख

khimkhadka2012@gmail.com

Download: कार्यालय प्रमुखको सन्देश


488